गगन थापा: ओली र महतोको चश्माले नहेरौं, कांग्रेसको चश्माले हेरौं

'कांग्रेस सकियो भनेर विलौना नगरौं'

२०७२ मंसिर २८ गते ११:५१ मा प्रकाशित
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अहिले नेपाली कांगेस सकियो भनेर विलौना नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले अहिलेको समस्यालाई राजेन्द्र महतो वा केपी ओलीको आँखाबाट नभई नेपाली कांग्रेसको आफ्नै आँखाबाट हेर्न नयाँ चश्मा लगाइनुपर्ने बताए ।
पछिल्लो राजनीतिक परिघटनामा नेपाली कांग्रेसले लिएको कार्यनीतिको बचाऊ गर्दै सांसद थापाले यसरी विश्लेषण गरे:
Gagan Thapa with onlinekhabar3
संविधानसभाबाट सविधान बनाइसकेपछि मधेसको आन्दोलन एकातिर थियो, अर्कोतिर त्यही आन्दोलनलाई देखाएर भारतले नाकाबन्दी गर्‍यो । विघठित संविधानसभाको ठूलो दल कांग्रेसको जिम्मेवारी भनेको मधेसको असन्तुष्टिलाई सम्बोधन गरेर संविधानलाई कार्यान्वयनतिर लिएर जाने हो । मधेसलाई सम्बोधन गर्नासाथ नाकाबन्दीबाट फिर्ता हुन बाध्य पार्ने हो । अर्थात कांग्रेसको कार्यदिशा भनेको संविधानलाई कार्यान्वयनमा लिएर जाने हो ।
सरकारमा जानेबारे फरक मत र विलौना
यो राजनीतिक कार्यदिशा प्रष्ट भएपछि के गर्दा यो संविधान कार्यान्वयनमा जान सक्छ ? सरकारमा जाने/नजाने कस्तो निर्णयले संविधान कार्यान्वयनको कार्यदिशालाई मद्दत पुग्छ भन्ने सन्दर्भमा हाम्रो पार्टीभित्र फरक-फरक धारणा थियो, जुन अस्वभाविक होइन ।
योबेलामा पार्टी सकियो, बर्बाद भो भन्नेखालको विलौना र आत्मनिन्दामा पार्टीलाई लगिएको छ, यो घातक छ
केही साथीहरुले भन्नु भो, कांग्रेस, एमाले र एमाओवादीसँगै सरकारमा बस्ने र एउटै गठवन्धन कायम राख्ने । केहीले यही गठवन्धनका कारण समस्या आएको हो, गठवन्धनको त धारणा एउटै हुन्छ । गठवन्धनबाट गलत भयो भने नयाँ स्पेस सिर्जना हुन्छ र त्यो नयाँ पोलिटिकल स्पेसमा समस्याको हल हुन्छ भन्नुभयो ।
म लगायतका केही साथीहरुले भन्यौं कि एमालेलाईर् सरकार बनाउन दिऔं तर, सरकारमा हामी सामेल नहोऔ, यसले हामीले भनेको पोलिटिकल स्पेस बाहिरबाट बन्छ । कांग्रेस र एमाले दुबै गठवन्धनमा बस्ने कुराले दुबै दललाई लाभ त होला । तर, देशको समस्या हल गर्न मदत पुग्छ भन्ने लाग्दैन ।
हाम्रा बीचमा मतभेदहरु रहे । र, एउटा निर्णय भयो । त्यो निर्णय जसरी भयो, कतिपय अपारदर्शी र अदृश्य चलखेलका कुरा आए । यो हाम्रो चरम आक्रोशको विषय पनि हो । निश्चय पनि समीक्षाको विषय हुनुपर्छ । तर, मलाई के लाग्दैन भने प्रष्ट राजनीतिक कार्यदिशा भएका बेलामा गर्ने एउटा निर्णयले तत्काल घाटा भएको देखिन्छ । तर, पछि सम्हाल्न सक्यो भने फाइदा पुग्छ ।
त्यसैले योबेलामा पार्टी सकियो, बर्बाद भो भन्नेखालको विलौना र आत्मनिन्दामा पार्टीलाई लगिएको छ, यो घातक छ ।
कांग्रेसको कार्यदिशा अहिले पनि प्रष्ट छ । त्यो भनेको संविधान कार्यान्वयन हो । यो संविधान कार्यान्वयन भएन भने १२ बुँदेदेखि सुरु भएको यो कोर्ष सकिन्छ । यसको सर्त भनेको संविधान कार्यान्वयन हो ।
मधेसमा यत्रो ठूलो आन्दोलन भइरहेका बेला संविधान कहाँबाट कार्यान्वयन हुन्छ ? प्रदेश बनाउनेदेखि चुनावसम्म गर्नु छ । सयौं ऐन कानून बनाउनुछ । अहिले त संविधान जारी मात्र भएको छ । त्यसैले सरकारमा गए पनि, नगए पनि संविधान कार्यान्वयनमा कांग्रेसको आफ्नो निश्चित भूमिका छ ।
त्यसमा चुक्यौं भने ठूलो क्षति हो । होइन भने एउटा राजनीतिक निर्णयबाट पार्टी सकियो भनेर गरेको गल्ती भन्दा पनि ठूलो पापको भारी बोकेको जस्तो आफूले आफूलाई जसरी हिँडाउन खोजेको छ, यो घातक छ ।
म जहिले पनि के सँग जोडेर हेर्छु भने प्रचण्ड नेतृत्वको माओवादीले अकल्पनीय विजय प्राप्त गरेपछि दाहाल नेतृत्वको सरकारमा सहभागी हुने कि चुनाव लड्ने भन्ने यस्तै अवस्थामा हामी थियौं । त्यसबेला पार्टीले अन्तिममा शेरबहादुर देउवालाई चुनाव लडायो ।
त्यो बेलामा पनि बर्बाद भो, कम्युनिष्टहरुको मात्र सरकार बन्यो, गृहमन्त्री एमाले, माओवादीको सरकार अब खत्तम हुन्छ भनिएका थियो । गलत निर्णय पो भयो कि भन्न लागेको थियो । तर, पछि संसदीय चुनावमा सँगै बस्नुभन्दा लड्नु राम्रो थियो भन्ने देखियो । हामीले राष्ट्रपतिको चुनाव जित्यौं, त्यसले नै हामीलाई माओवादीसँग लड्ने, जुध्ने ताकत दियो । अहिले पनि त्यो हुन सक्छ ।
मूल विषयमा ठिक ठाउँमा छ कि छैन भन्ने हेरौं । आफ्नो नेतृत्वमा संविधान बनाएको छ । तर, कार्यान्वयनलाई असरल्ल छाडेर बस्छ भने यो पार्टी सकियो । यो पार्टीको भविश्य केमा छ भने यो संविधान कार्यान्वयन भयो भने कांग्रेसले जित्यो । कार्यान्वयन हुनुभन्दा पहिला नै दुर्घटनमा पर्‍यो भने सरकारमा थियो कि थिएन भन्ने कुराले के अर्थ राख्छ ।
छिमेकीसँगको सम्बन्धबारे
नयाँ संविधान भनेको नयाँ राजनीतिक अध्यायको सुरुवात पनि हो । यो राजनीतिक अध्याय खासगरी नेपाल र भारतको सम्वन्ध हिजोको अवस्थामा जस्ताको त्यस्तै रहन सक्दैन ।
भारत र चीन दुबै फेरिएका छैनन् र उनीहरुको हाम्रोप्रतिको नीति पनि फेरिएको छैन
खासगरी भारतले नेपालसँग गर्ने व्यवहार हिजोको अवस्थामा रहने र संविधान जारी भएपछि कार्यान्वयनमा अपेक्षाकृत ढंगले भारत सहयोगी नरहने जुन अवस्था देखिएको छ । यो पनि संविधान कार्यान्वयनको चुनौती हो । यो एकदमै भद्दा र उत्तेजनाबाट हल हुने विषय पनि होइन ।
हामीले बडो सुझबुझका साथ कतिपय कुरामा प्रतिरोध गर्दै कतिपयमा सम्हाल्दै, कतिपयमा इन्गेज गर्दै लैजानुपर्छ । होइन भने हाम्रो संविधानको कार्यान्वयनमा जटिलता त्यहाँबाट पनि छ ।
हामीले परम्परागत रुपमा पनि के देख्दै आएका छौं भने प्रत्येक पटक आन्दोलनलाई समर्थन गर्ने तर, आन्दोलन टुंगिनासाथ आन्दोलनबाट प्राप्त उपलब्धिका विरुद्ध संघर्ष गर्ने शक्तिलाई मदत गर्ने नीति भारतको देखिन्छ ।
मैले यसलाई कसरी पनि हेर्छु भने चीनले नेपालमा जुनसुकै परिर्वतन भयो भने त्यसलाई हेर्ने र त्यो परिर्वतनबाट स्थपित भएको सरकारसँग सहकार्य गर्ने गरेको छ । उसको भने आफ्नो स्वार्थ छ । भोलि गएर नेपालमा संविधान कार्यान्वयन भएन र अर्को शक्ति आयो भने चीनले संविधानको पक्षमा बोल्ने होइन । उसको घोषित कुरा छ, नेपालमा भएको संस्थापनसँग सहकार्य गरेर आफ्नो स्वार्थको रक्षा गर्ने ।
भारतले परिवर्तनलाई मद्दत गर्छ । तर, परिर्वतनपछि स्थापित भएको शक्ति वा संस्थापनका विरुद्ध जो लड्छ, उसलाई मद्दत गर्छ । यो भोग्दै आएको छ नेपालले । नयाँ संविधान जारी भएपछि नेपालमा फेरियो त ? भारत र चीन दुबै फेरिएका छैनन् र उनीहरुको हाम्रोप्रतिको नीति पनि फेरिएको छैन ।
यी चुनौतीका बीचमा हाम्रो संविधानको कार्यान्वयन सुझबुझ पूर्ण ढंगले मात्र हुनसम्छ । यो देखाइदिन्छु, त्यो देखाइदिन्छु भनेर हुँदैन । हामीले के बुझ्नुपर्छ भने यो संविधान दुर्घटना पर्‍यो भने एउटाले आउने संस्थापनसँग सहकार्य गर्छ । अर्कोले संविधान दुर्घटनामा पार्न जो कोही लाग्छ भने उसलाई नै मित्रको व्यवहार गर्न सक्छ । यसको सन्दर्भमा पनि कांग्रेस कसरी जान्छ भन्ने महत्वपूर्ण लाग्छ ।
ओली र महतोको अतिवादी चश्मा
पहाडतिरका साथीहरुसँग कुरा गर्‍यो भने केपी ओली बोलेको जस्तो, अनि मधेसका केही साथीहरु भेट्यो भने नेपालको सिंगो संविधान, त्यसले गरेको व्यवस्था र उपलब्धिलाई बडो संकुचित ढंगबाट राजेन्द्र महतोको चश्मा हरेको जस्तो देखिन्छ
नेपालको राजनीतिक परिर्वतन, राष्ट्रियता र नेपाल अगाडि जाने सन्दर्भमा एमालेका नेता केपी ओलीका एउटा दृष्टिकोण देखिन्छ । अर्को मधेस आन्दोलनको एक नेता राजेन्द्र महतोको एकखालको ब्याख्या छ । मलाई दुबै अतिवादी लाग्छ र कतिपय सन्दर्भमा एक प्रकारले नश्लवादी गन्ध आउँछ ।
अब कता-कता कहिले काँही छलफल गर्दै गर्दा के देखिन्छ भने पहाडतिरका साथीहरुसँग कुरा गर्‍यो भने केपी ओली बोलेको जस्तो, नेपालको राजनीतिक परिर्वतन, राष्ट्रियतालाई त्यो चश्मा लगाएर हेरेको जस्तो देखिने ।
अनि मधेसका केही साथीहरु भेट्यो भने नेपालको सिंगो संविधान, त्यसले गरेको व्यवस्था र उपलब्धिलाई बडो संकुचित ढंगबाट राजेन्द्र महतोको चश्मा हरेको जस्तो देखिन्छ । म पार्टीको कार्यक्रमहरुमा भाग लिन देशका विभिन्न स्थानका जाँदै गर्दा देखेको र भोगेको अनुभव हो ।
कांग्रेसको उपस्थिति र अस्तित्व नै के कुरा हो भने यो यो दुबै दृष्टिकोण गलत छ । नेपाललाई हेर्ने मौलिक दृष्टिकोण चाहिन्छ र त्यो संविधानले नै दिएको छ । नेपाल राष्ट्रका परिभाषा छ, राज्यको परिभाषा गरेको छ र त्यो अनुरुपका संस्था र संस्कार बन्नुपर्छ भन्नने परिकल्पना गरेको छ ।
यो मौलिक दृष्टिकोण कांग्रेसका प्रत्येक सदस्यले राख्न सक्यो भने मात्र कांग्रेसलाई सानोतिनो हावाले फरक पर्दैन । यसले मात्र अहिले देखिएको दाउरा बालौं, साइकल चढौं भन्नेले कांग्रेस पहाडतिर सकियो कि क्या हो ? राष्ट्रियताको नयाँ उभार आयो, हामीलाई बढारेर लैजान्छ कि क्या हो ? भनेर डराउनु पर्ने र मधेसतिर अहिलेको आन्दोलन कांग्रेस सकिछ भने अवस्था आउँदैन । जो जहाँ भएपनि एउटै चश्माबाट राजनीतिक परिर्वतन, राष्ट्रियतालाई हेर्न सक्नुपर्छ ।
आफ्नो मौलिक दृष्टिकोण बनाउन सकेनौं भने यस्ता हावाहुण्डरीले त हामीलाई हल्लाउँछ भने ठूलै आयो भने त हाम्रो रुखलाई त उखेलेर फाल्छ
यसका लागि आफैंभित्र नबजागरण अभियान चलाउनुपर्छ । संविधान जारीपछि नेपालको राष्ट्रियताको सन्दर्भमा बाहिर बजारमा के हल्ला चलेको छ भने होइन कि हाम्रो सन्दर्भमा के हो ? जातीय विविधितालाई हामी के भन्छौं ? नैसर्गिक पुँजी हो कि सबैभन्दा खतरा ?
यसका थुप्रै आयाम छ । यसमा प्रत्येक कांग्रेसले बहस गरेर हाम्रो विचार यो हो भन्ने भयो भने सानातिना हावा हुण्डरीबाट डराउनु पर्दैन । होइन, आफ्नो मौलिक दृष्टिकोण बनाउन सकेनौं भने यस्ता हावाहुण्डरीले त हामीलाई हल्लाउँछ भने ठूलै आयो भने त हाम्रो रुखलाई त उखेलेर फाल्छ ।
संविधानसभाले बनाएको संविधानले सम्पूर्ण मधेसलाई केही पनि दिएको छैन, यो भन्दा ठूलो प्रतिगामी संविधान केही हुन सक्दैन भन्ने राजेन्द्र महतोको उद्घोष एकातिर छ भने मधेसमा भएको आन्दोलन नेपाली आन्दोलन नै होइन, सम्पूर्ण रुपमा प्रयोजित हो र त्यहाँ आएका सबै मानिस मूर्ख हुन् भनेर हेर्ने केपी ओलीको दृष्टिकोण छ । यी दुबैबाट मधेसको समस्या हल हुँदैन ।
नेपालमा बिग्रिएको चश्मा छ यो हो अहिले । बाहिर बजारमा हामीले आफ्नो चश्मा ल्याउन सकेनौं भने मानिसहरुले त जे उपलब्ध छ, त्यही लगाएर हेर्छन् । यिनको चश्माले हेर्‍यो भनेर रुनुभन्दा हाम्रो चश्मा दिउँ त । यो चश्माले हेर्यो भने मधेस पनि ठिक्क देखिन्छ, पहाड पनि ठिक्क देखिन्छ । राष्ट्रियता पनि ठिक्क देखिन्छ ।
र, यो चश्मा जनतालाई दिनुभन्दा पहिला त आफूले लगाउनुपर्छ । हाम्रो पार्टी सदस्यले लगाउनुपर्छ । यसका लागि सुविचारित बहस र छलफल गरौं ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज