संविधान संशोधनबारे कांग्रेस र एमाओवादीबीच छलफल

२०७२ पुष ११ गते १३:०५ मा प्रकाशित
 
११ पुस, काठमाडौं । संविधान संशोधन र तराई मधेसमा आन्दोलनरत मधेसवादी दलले उठाएका माग सम्बोधन गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीबीच छलफल भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा भएको द्विपक्षीय छलफलमा मधेसवादी दललाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र मुलुकले भोगिरहेको समस्या समाधान गर्न दुवै पक्ष सहमत भएका छन् ।
व्यवस्थापिका–संसद्को बैठक आइतबार बोलाइएको छ । बैठक अगावै एउटा सहमतिमा पुग्ने उद्देश्यका साथ छलफल भएको नेताहरूले बताए ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनु भएका अध्यक्ष दाहालको सक्रियतामा मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयत्न भइरहेको छ । कांग्रेस नेतृत्वको सरकारले सदनमा पेस गरेको संशोधन विधेयकको भाषा मिलाएर भए पनि सहमति गरेर जाने मनसायमा प्रमुख दलहरु रहेका छन् ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहका अनुसार मधेसवादी दलले उठाएको विषयमा साझा धारणा बनाएर जाने विषयमा प्रमुख दुई दलबीच छलफल भएको थियो । जति सक्दो छिटो ठोस निष्कर्षमा पुग्ने सहमति भएको उल्लेख गर्दै आजै अपराह्न ३ बजे कांग्रेस र मोर्चाबीच छलफल हुने र साँझ पुनः कांग्रेस, एमाओवादी र मोर्चाबीच त्रिपक्षीय छलफल गर्ने सहमति भएको बताए ।
कांग्रेससँगको छलफलमा एमाओवादी अध्यक्ष प्रचण्डले लामो समयसम्म मुलुकलाई अप्ठ्यारो अवस्थामा राख्न नहुने भएकाले प्रमुख दलले कुनै न कुनै समाधान निकाल्नुपर्ने र त्यसमा कांग्रेसको सहयोगको अपेक्षा गरेका थिए ।
मोर्चाले उठाउँदै आएको सीमाङ्कनका विषयमा फराकिलो आधार तयार पार्दै राजनीतिक समितिमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । छलफलमा काँग्रेस र एमाओवादीका शीर्ष नेताको सहभागिता रहेको थियो ।
प्रचण्डले शुक्रबार पनि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै छलफल गरेका थिए । रासस

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज