गोकर्ण विष्ट भन्छन्-ओलीको कामबाट हामी निराश भयौं जनताले इतिहासकै सबैभन्दा साथ दिएको सरकार हो यो

२०७२ पुष ११ गते १२:२५ मा प्रकाशित
 
Gokarna-Bista1
११ पुस, काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव गोकर्ण विष्ट मन्त्री हुँदा लोडसेडिङ घटाएर जनताबीच लोकप्रिय बनेका नेता हुन् । जनताले जस्तै विष्टले पनि केपी ओलीबाट ठूलै अपेक्षा गरेका थिए । तर, अहिले विष्ट निराश बनेका छन् ।
जम्बो मन्त्रिपरिषद बिस्तार र मन्त्रालय तोडफोडजस्ता ओलीका पछिल्ला कदमले विष्टको अपेक्षामाथि चिसोपानी फ्याँकिएको छ ।
पार्टीभित्रका मामिलामा जोगिएर बोल्न रुचाउने र गुटको विवादमा नपर्ने स्वभावका विष्टले अनलाइनखबरसँग भने- ओलीजीले जनतालाई र हामीलाई निराश बनाउनुभयो, अझै पनि उहाँले जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्नुभयो भने अहिलेको अलोकपि्रय काम ओझेलमा पार्न सक्नुहुन्छ ।
प्रस्तुत छ, विष्टसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानी –
प्रधानमन्त्री धमाधम मन्त्रालय र मन्त्रीको संख्या थप्दै जनताको थाप्लोमा भार थोपर्दै हुनुहुन्छ, यसमा पार्टीको पनि पूर्ण समर्थन हो ?
आज मुलुकले जुन संकट व्यहोरेको छ, जनताले जसरी कष्ट उठाउनुपरेको छ, यस्तो बेलामा मन्त्रिमण्डल सानो बनाएरै व्यवस्थापन गर्नुपर्ने हो । तर, यसको ठीक विपरीत मन्त्रिपरिषदको आकार र मन्त्रीहरुको संख्या ठूलो बनाएर बिभिन्न दलहरुलाई ल्याउने जुन प्रयास उहाँले गर्नुभयो, त्यसले गलत सन्देश दिएको छ । यो अनावश्यक र अलोकप्रिय काम हो, यस्तो गर्ने बेला अहिले थिएन ।
सरकार टिकाउनकै लागि यसो गरिएको हो भने पनि एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिक जस्ता दलहरुको साथले सरकारको आयु निर्धारण गर्ने हो, साना दलका लागि यत्रो फौज किन ?
यो प्रश्न अत्यन्त गम्भीर छ । ठीकै छ, प्रधानमन्त्रीका आफ्ना बाध्यता होलान् । सरकारलाई स्थायित्व दिन केही व्यवस्थापन गर्नु परेको होला । तर, योबेला आवश्यक हो कि होइन ? जनता नाकाबन्दीको संकटमा छन् । भूकम्प पीडित जनता चीसोले मर्दैछन् । सानो मन्त्रिमण्डलले काम गर्नुपर्ने बेलामा यति ठूलो आकार बनाउनु कुनै पनि हालतमा राम्रो होइन । उहाँको यस्तो कामले जनतामा निराशा बढाएको छ ।
तपाईहरुले यो कुरा प्रधानमन्त्रीलाई किन भन्नुभएन ?
आवश्यकता अनुसार भनिएको छ र उहाँ आफैं यसबारेमा जानकार हुनुहुन्छ । अहिले सरकारको काम भनेको संविधान कार्यान्वयनमा सहजीकरण गराउने हो । नाकाबन्दीबाट मुलुकलाई मुक्त गराउने हो । भूकम्प पीडित जनतालाई राहत तथा पुननिर्माण गर्नुपर्ने हो । मधेस आन्दोलनको व्यवस्थापन हो । तर, यी सबै काम छाडेर जनताको चाहना विपरीत जुन काम भयो, यसले त हामी सबैलाई निराश बनाएको छ । सरकारको प्राथमिकता अहिले के हो भन्ने कुरा बुझेर काम गर्नुपर्छ भन्ने मेरो धारणा हो ।
प्रधानमन्त्रीले यी सबै कामहरु गरिरहँदा पार्टीमा छलफल हुने गरेको छैन ?
प्रधानमन्त्रीले बिभिन्न पार्टीलाई दिएको आश्वासन र बाध्यताले गर्दा मन्त्रिपरिषद ठूलो बनाउनुपो भन्ने पनि छ । तर, जेसुकै निर्णय लिँदा पनि जनताको अपेक्षा के छ भन्ने बुझेर गर्नुपर्ने हो । उहाँले यसमा पर्याप्त ध्यान दिनुभएन ।
उहाँबाट जनताले जे अपेक्षा गरेका थिए, त्यो अनुसार त भएन । जुन प्रकारले भद्दा मन्त्रिमण्डल गठन गरियो, यसबाट जनता र पार्टी पंक्तिमा राम्रो सन्देश गएको छैन । चौतर्फी आलोचना र टिप्पणीको विषय बनेको छ । यो कुरामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष स्वयं र पार्टीले समेत ध्यान पुर्‍याउन आवश्यक छ ।
एमालेबाटै ६ जना राज्यमन्त्री थप्दा पार्टीमा कुनै सल्लाह नै नगरी एकै गुटमा पारियो भन्ने पनि छ नि ?
यसबारेमा मेरो यतिमात्र टिप्पणी छ, जति धेरै छलफल र सामुहिकतामा विश्वास गरिन्छ त्यति नै राम्रो हो । संस्थागत ढंगले निर्णय गरियो भने त्यसमा सबैले अपनत्व र स्वामित्व ग्रहण गर्न सक्छन् । सामुहिक छलफलबाट गरिएका निर्णयहरु तुलनात्मक रुपमा कम त्रुटिरहित र कम विवादित हुन्छन् । सामुहिकतालाई जति ध्यान दिन सकियो त्यसले पार्टी बलियो हुन्छ ।
जहाँसम्म सामूहिक छलफल भयो कि भएन भन्ने कुरा छ, मैले थाहा पाएसम्म स्थायी कमिटी वा अन्य निकायमा यसबारेमा छलफल भएजस्तो लाग्दैन । यदि यस्तो हो भने पार्टीको के औचित्य रहन्छ र ? उहाँबाट पार्टीले र जनताले गरेको अपेक्षा पूरा गर्नेतर्फ पाइला चालिनु उपयुक्त हुन्छ ।
जनतामा निराशा छ, यत्रो महिनासम्म सरकारलाई साथ दिए । तर, सरकारबाट त केही पनि पाएनन् नि होइन ?
वास्तवमा नेपाली जनताले अत्यन्त धैर्य र संयमका साथ सरकारलाई साथ दिए । जनताले यो सरकारलाई जसरी साथ दिए इतिहासमा यति धेरै जनताको साथ सहयोग अरु कुनै सरकारले पाएका थिएनन् । सरकार पनि जनताको त्यो आशालाई निराशामा नबली जनताको आकांक्षा पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।
असल काम गर्नका लागि जनताले सधै साथ दिन्छन् । सरकारलाई राम्रो काम गर्नका लागि पार्टीको पनि जहिलेसुकै साथ सहयोग रहँदै आएको छ ।
पछिल्लो समय पुनर्निर्माण प्राधिकरणको सीइओ नियुक्तिमा पनि सरकारले कमजोर मान्छे ल्यायो भन्ने टिप्पणी पनि शुरु भयो नि ?
पुनर्निर्माण प्राधिकरणको सीइओमा नियुक्त हुनुभएका सुशील ज्ञवालीजी क्षमताको हिसाबले अत्यन्तै योग्य र क्षमतावान साथी हुनुहुन्छ । मलाई विश्वास छ उहाँले यो जिम्मेवारी गम्भीरता र कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज