राजलक्ष्मी गोल्छाले 'नेतालाई पैसा बाँडेको' कुराले एमालेको बैठकै स्थगित

विराटनगर, पुस ३ 

print


एमाले सभासद राजलक्ष्मी गोल्छा प्रकरणबारे पार्टी केन्द्रीय कमिटी चुप बसेपछि स्थानीय तहमा यसको बहस सुरू भएको छ। गोल्छाले एमालेका सभासददेखि बरिष्ठ नेतासम्मलाई पैसा बाँडेको कुराबारे स्थानीय कमिटीमा कार्यकर्ताले धारणा राख्दा बैठकै स्थगित भएको छ। 
बिहीबार मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीमा आयोजित पार्टीको जिल्ला कमिटी बैठक राजलक्ष्मी प्रकरणका कारण एजेण्डामा प्रवेशै नगरी रोकिएको हो। बैठकमा सहभागी नेताहरूका अनुसार जिल्ला कमिटी सदस्यहरूले राजलक्ष्मी प्रकरणलाई एजेण्डामा राखेर छलफल गरिनुपर्ने माग राखेपछि बैठक स्थगित भएको हो। 
'राजलक्ष्मी प्रकरणबारे बैठकमा एजेण्डा थिएन, हामीले यसलाई एजेण्डा बनाएर छलफल गर्नुपर्छ भनेपछि बैठक स्थगित भएको हो,' बैठकमा सहभागी एक नेताले सेतोपाटीसँग भने, …गोल्छाको कुरा उठाएपछि बैठक कुनै एजेण्डामै प्रवेश गरेन।'
पार्टी सचिव तथा सभासद ऋषि पोखरेलले बैठक सुरू गरे। बैठकमा अध्यक्ष महेश रेग्मीले एजेण्डा सुनाएका थिए। तर जिल्ला सदस्य वसिम आलम, पारुल क्षेत्री, रुपेश खतिवडा, धर्मानन्द सञ्जेल लगायत नेताहरूले राजलक्ष्मी प्रकरण कोट्याएका थिए। 
बिहान ११ बजे सुरु भएको बैठकको सुरुमा अध्यक्षले एजेण्डा प्रस्तुत गरेलगत्तै केही जिल्ला नेताहरू उठेर राजलक्ष्मी प्रकरणलाई पनि एजेण्डा बनाउन दबाब दिएका थिए। एजेण्डा नबनाए बैठक चल्न नदिने भएपछि नेताहरू एजेण्डा बनाउन सहमत भएका थिए। 
 तर पार्टीका ९ वटा क्षेत्रीय कमिटीले रिपोर्टिङ सकेपछि बैठक एजेण्डामा प्रवेश नपाइ रोकियो। 'अध्यक्षले एजेण्डा सुनाउनुभयो तर हामीले गोल्छा प्रकरणको छलफल गर्नुपर्छ भनेपछि ९ वटा क्षेत्रीय कमिटीले रिपोर्टिङ सक्नासाथ बैठक स्थगित भयो,' ती सदस्यले भने। 
 पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति बनेपछि पूर्वाञ्चल क्षेत्रको जिम्मेवारी सचिव भीम आचार्यलाई तोकिएको थियो। आचार्यले पनि समय अभाव भन्दै अर्कोपटक बैठक बस्ने भनेपछि स्थगित भएको थियो। 
 सहभागी नेताहरूले गोल्छाले पैसा दिएको भए पार्टी कोषमा दाखिला हुनुपर्ने माग राखेका थिए। त्यसैगरी, पैसा लिनेहरूमाथि छानविन तथा कारबाही तर गोल्छाले पैसा नदिएको भए उनैमाथि कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए। 'पैसा लिनेहरू को–को हुन् पहिचान होस् र उनीहरूमाथि छानविन गरी कारबाही होस् भन्ने कुरा हामीले राखेका हौं,' जिल्ला कमिटी सदस्य पारुल क्षेत्रीले भने, 'यदि हैन, गोल्छाले पैसा दिएको छैन भने उनीमाथि कारबाही हुनुपर्छ भनेर हामीले माग राखेका छौं।' 
 एमाले स्थायी कमिटीले दुई महिनाअघि गोल्छालाई राजीनामा दिन लगाउने नत्र हटाउने निर्णय गरेको थियो। त्यसपछि गोल्छाले एमाले तथा नेताहरूका नाममा ७ करोड बढी पैसा दिएको आरोप लगाएकी थिइन्। तर यो आरोपबारे एमाले अहिलेसम्म चुप बसेको छ। 
 एमाले बरिष्ठ नेता झलनाथ खनाल, सभासद ऋषि पोखरेल, अकुत आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण मुद्दामा अदालत धाइरहेका पर्शुराम बस्नेत, जिल्ला कमिटीका पूर्व अध्यक्ष विनोद ढकाल, युवा संघ उपाध्यक्ष गोविन्द थापालगायतले पैसा लगेको भन्दै गोल्छाले पत्रकार सम्मेलन गरी एक–एक हिसाब दिने बताएकी थिइन्। 
जिल्ला कमिटी अध्यक्ष महेश रेग्मीले राजलक्ष्मी प्रकरण एजेण्डामा राखिएकाले अर्को बैठकमा छलफल हुने बताए। उनले समय अभावकै कारण थुपै्र विषयमा छलफल गर्नुपर्ने भएकाले अर्कोपटक बैठक बसिने जानकारी दिए। 

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज