अस्ट्रेलियाको राजनीतिमा नाता जोड्दै नेपाली

हेमन्त काफ्ले अस्ट्रेलिया,पुस १६ 

prin


प्रवासमा नेपाली राजनीतिले गाँजेको नेपाली समाज यतिबेला विस्तारै घरेलु राजनीतिमा आकर्षित हुन थालेको छ। संख्यात्मक हिसाबले ठ्याक्कै यकिन गर्न नसकिए पनि ८० हजारको हाराहारीमा नेपाली बसोबास गर्दै आएको अस्ट्रेलियामा ८० कै संख्यामा नेपाली संघ संस्था होलान्।
 
नेपालका हरेक राजनीतिक पार्टीका भातृ संगठन र निकाय रहेको अस्ट्रेलियामा राजनीतिक झण्डा बोकेर राजनीति गर्ने समुदाय बिस्तारै घरेलु राजनीतिमा आकर्षित हुन थालेको छ। यसको पछिल्लो उदाहरण हो, लिबरल फ्रेन्ड्स अफ नेपालको गठन र यसको क्रियाशिलता।लेबर पार्टीमा पहिलेदेखि नै नेपालीहरुको सहभागिता देखिए पनि सत्ताशीन लिबरलमा नेपाली समुदायले आधिकारिक नाता जाडेको भने धेरै भएको छैन्।   लेबर र लिबरल पार्टीको बाहुल्यता रहेको अस्ट्रेलियामा यतिखेर लिबरलले  साना पार्टीको साझेदारीसहित सरकार चलाएको अवस्था छ । घरेलु राजनीतिसँग साइनो जोड्न नसकेको नेपाली समाजले लामो समयपछि आएर लिबरल फ्रेन्ड्स अफ नेपालको नाममा पार्टीको भगिनी संस्था खोलेर समुदायको आवाज सरकारसम्म पुर्‍याउने बाटो रोजेको हो। लामो समयदेखि बाक्लिदै गएको नेपाली समुदायको आवाज अस्ट्रेलियाको सरकारसम्म पुग्ने एउटा बाटो खोज्ने प्रयास गरेको भएपनि अहिले आएर सफल भएको लिबरल फ्रेन्ड्स अफ नेपालका संयोजक श्री नापीतले सेतोपाटीसँग बताए।
 
नापीतले भने-'नेपाली राजनीतिमा जोडिएर हिडेका हामीले यहाँको समस्या र समाधानको वाटो रोज्न घरेलु राजनीतिको अंगको रुपमा यसलाई अगाडि बढाएका हौँ। ' उसो त लेबरका नेपाली नेताहरु गणेश केसी, गोवा कटुवाल, भरत पन्त, रमेश थापा, प्रेम सापकोटा लगायतले भारतीय नाकाबन्दीविरुद्ध क्यानबेरास्थित संसद भवनमै नेपालीको आवाज बुलन्द गरेका थिए । प्रवासमा बस्ने नेपाली समुदायलाई स्थानीय र केन्द्रीय सरकारसँग जोड्ने प्रयास भएको लेबरका नेपाली नेता गणेश बताउँछन् ।नेपाली समुदायको प्रभावशाली उपस्थिति रहेको ग्रानभिलका लेबर नेता गोवा कटुवाल नया पुस्तालाई यहाँको राजनीतिसँग साइनो गास्ने माध्यमका लागि पनि आफुहरु स्थानीय राजनीतिमा होमिएको बताउँछन्।
 
लगभग एक लाख नेपाली रहेको अस्ट्रेलिया र यहाँको राजनीतिमा हाम्रो पहुँच र आवाज पुगोस् भनेर आफूहरु लागि परेको स्थानीय लेबरका नेता भरत पन्तले बताए ।  सन् १९६१मा पहिलो पटक दुर्इ नेपाली अस्ट्रेलिया आएको तथ्य र इतिहास भएपनि हालसम्म यकिनका साथ कति नेपाली अस्ट्रेलियामा छन्, त्यो तथ्यांक न नेपाली दूतावासमा छ न त कुनै संघ संस्थासँग।  संघसंस्था खोल्ने होडबाजी र करेसामा पुत्ला जलाउन जान्ने नेपाली समुदायले आफ्नो संख्या यकिन गर्न नसक्नु हास्याँस्पद  विषय हो। त्यति मात्र होइन नेपाली दूतावाससँग पनि नेपालीको विषयमा कुनै यकिन तथ्यांक छैन। 
 
लिबरल फ्रेन्ड्स अफ नेपालले स्थानीय कोग्रा क्षेत्रका सांसद निकोलस भार्भारिस र अध्यागमन तथा सीमा सुरक्षामन्त्री पीटर डटनसँग नेपालीहरुको समसामयिक समस्याका विषयमा छलफलको समेत आयोजना गरेका थियो। लिबरलका वेस्ट्रन रिजनका संयोजक निरज श्रेष्ठले समसामयिक समस्यालाई स्थानीय राजनीतिक पार्टीमा लैजाने र सरकारसम्म नेपाली समुदायको पहुँचको लागि फ्रेन्ड्स अफ नेपाल क्रियाशिल रहेको बताए। श्रेष्ठले भूकम्प पीडित नेपालीका लागि अस्ट्रेलियन सरकार र अध्यागमन नीतिका बारेमा केही लचिलो बन्न मन्त्री पीटरसँग आग्रह गरेका छन्।
 
लिबरलको राजनीतिमा लागेको बिनोद पौडेल स्थानीय राजनीति र राज्यसँगको पहुँचका लागि यहाँको राजनीतिक पार्टीमा लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउँछन्। पौडेल भन्छन्-' नेपालको राजनीतिले हामीलाई अस्ट्रेलियामा आइपर्ने समस्यामा फाइदा पुग्दैन।' कार्यक्रममा अध्यागमन तथा सीमा सुरक्षामन्त्री पीटर डटनले नेपाली समुदायको प्रभाव निकै राम्रो रहेको बताए। इमानदारिता, दक्ष जनशक्ति अनि आर्थिक बिकासमा पनि यो समुदायको राम्रो प्रभाव रहेको मन्त्री पीटरले बताए ।  नेपालीहरु बेरोजगार भत्ता खानुभन्दा काम गर्न रुचाउने तथ्यांकले पनि इमानदारिता प्रस्ट भएको पीटरले बताए। 
 

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज