कांग्रेस कार्यकर्ताहरुलाई ‘एस म्यान’ नबन्न खड्काको आग्रह

कांग्रेस कार्यकर्ताहरुलाई ‘एस म्यान’ नबन्न खड्काको आग्रह

Purna-Bahadur-Khadka

२ पुस, । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले आसन्न १३ औं महाधिवेशनलाई सनातनी महाधिवेशन बनाउन नदिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियनले नेपालगन्जमा बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खड्काले कांग्रेसको महाधिवेशन केवल पार्टी हाँक्नका लागि मात्र नभएको भन्दै भावि संविधान कार्यान्वयनका लागि पनि भएकाले सनातनी महाधिवेशन हुन नहुने बताए ।
उनले पार्टी भित्र चल्दै आएको ६० र ४० प्रतिशतको गुटको संरचना भत्काउनको लागि आफूले पहल गरेको दावी गरे । उनले भने, ‘नेपाली काँग्रेसका कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरुले सनातनी मानसिकतालाई त्याग्दै पार्टीमा रहेको गुटको संरचना तलदेखि माथिसम्म तोड्न आवश्यक छ । त्यसको लागि म पनि पहल गर्छु ।’
उनले महाधिवेशनमा आफूले कुनै पदको लागि कार्यकर्ताहरुसँग मत नमागेको दाबीसमेत गरे । उनले पार्टीमा भागबण्डाको सोचलाई सबैले त्याग्नु पर्नेमा जोड दिए ।
उनले जोड दिँदै भने, ‘म उमेरभन्दा पनि पार्टीमा स्पष्ट भिजन, कार्यक्रम र रणनीतिका साथ महाधिवेशनमा प्रस्तुत हुन आग्रह गर्छु । पार्टी सभापतिको जिल्लामा मैले गुट तोड्ने कुरा गरेँ । यही कुरा बोकेर चाँडै वरिष्ठ नेता देउवाको गृह जिल्ला पुग्ने कार्यक्रम बनाएको छु ।’
१३ औं महाधिवेशनबाट आउने नेतृत्वले संविधान कार्यान्वयनको कार्ययोजना, पार्टी सञ्च्ालनको कार्यनीति र मौजुदा असन्तुष्टिलाई सम्बोधन गर्दै मुलुकलाई नयाँ दिशा दिने रणनीति प्रस्तुत गर्नुपर्ने र महाधिवेशन प्रतिनिधिबाट त्यसको खोजि गरिनु पर्ने बताए । उनले गुटबन्दीमा लाग्ने र नेताहरुको गलत क्रियाकलापलाई पनि सहि भन्ने ‘एस म्यान’ नबन्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
आसन्न महाधिवेशन नजिकिँदै गर्दा देश दौडाहमा रहेका नेता खड्काले कांग्रेसलाई अहिलेको स्थितिबाट माथि उकास्ने नेतृत्व चाहिएको वताए । उनले भने, ‘अहिले पार्टी विधान विपरित चल्यो, पार्टीमा अनुशासन तोडियो भन्ने व्यापक गुनासो छ । यि गुनासालाई सम्वोधन गर्ने नेतृत्व कांग्रेसलाई चाहिएको छ ।’

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज