कोषराजलाई जोगाउने प्रचण्डको प्रयास असफल नयाँ आइजी बन्ने दौडमा दुर्जकुमार र जीवन थापा


२०७२ पुष ३ गते १४:४६ मा प्रकाशित
APF-15th-Day,-Koshraj-Wonta
रमेश धमला
३ पुस, काठमाडौं । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल निलम्बनका लागि सिफारिस गरेको सुन्नेवित्तिकै सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त विहीबारै प्रचण्डनिवास लाजिम्पाटमा पुगे ।
अख्तियारले निलम्बनको सिफारिस गरेलगत्तै आइजीपी वन्तले प्रचण्डनिवास पुगेर आफूलाई जोगाइदिन आग्रह गरेका थिए । त्यसपछि प्रचण्ड र वन्त प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार गए ।
प्रचण्ड र कोषराजसँगै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि वालुवाटार पुगेका थिए । बालुवाटारमा कोषराजले प्रचण्ड, गृहमन्त्री शक्ति बस्नेत र प्रधानमन्त्रीलाई अख्तियारले नियतवस फसाउन खोजेको गुनासो पोखे ।
प्रचण्ड र गृहमन्त्रीसहित वन्त वालुवाटार पुगेपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव सोमलाल सुवेदीलाई निलम्बनको तयारीबारे सोधेका थिए । जवाफमा मुख्यसचिव सुवेदीले निलम्बनको प्रस्ताव तयार भैसकेको जवाफ दिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले अख्तियारको निर्णयलाई क्रस नगर्ने र शुक्रबार साँझ बस्ने क्याबिनेटले वन्तलाई निलम्बन गर्ने जनाऊ दिएर फिर्ता पठाएको स्रोतले बतायो ।
विहीबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण रोकिएको थियो ।
उता गृहमन्त्री शक्ति बस्नेतले भने आफु वन्तलाई लिएर वालुवाटार नगएको अनलाइनखबरलाई स्पष्टीकरण दिएका छन् । गृहमन्त्री बस्नेतले शुक्रबार साँझ बस्ने बैठकमा वन्तलाई निलम्वन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने बताए ।
नयाँ आइजीपीमा लफडा सुरु
यसैवीच वन्तलाई निलम्बन गरेपछि कसलाई कार्यवाहक आइजीपी बनाउने भन्ने विषयमा प्रचण्ड र प्रधानमन्त्री ओलीवीच असमझदारी रहेको स्रोतले बतायो ।
कार्यवाहक आइजीपीका लागि एआइजीहरु जीवन थापा, दुर्जकुमार राई, कृष्णकुमार तामाङ दौडमा छन् । एमालेले राईलाई र एमाओवादी तामाङलाई कार्यवाहक आइजीपीको जिम्मेवारी दिने पक्षमा देखिएको स्रोतले बतायो ।
आगामी माघमा अवकाश पाउन लागेका जीवन थापा पनि कामु आइजी खाने दौडमा छन । थापालाई वन्तले संगठनको मर्यादा विपरीत काम गरेको भन्दै नसिहत दिएका थिए ।
यदि अहिले कोषराजलाई निलम्बन गरेर थापालाई कामुको जिम्मेवारी दिएको खण्डमा राईका लागि आगामी चैतमा आइजीपी बन्ने बाटो खुल्ने । तर, जनआन्दोलनमा दोषी ठहर भएका राईलाई संगठनको नेतृत्व सुम्पिन वालुवाटार र लाजिम्पाट दुबैले आँट देखाउनुपर्ने हुन्छ ।
राई र थापा दुबै विवादित
Durja Kumar Rai and Jiban Thapaअख्तियारले भ्रष्टाचारको आरोपमा कोषराजलाई निलम्बनको सिफारिस गरेपछि सशस्त्र प्रहरी बलमा कार्यवाहक महानिरीक्षकको प्रतिस्पर्धा सुरु हुनु स्वाभाविकै हो ।
जीवन थापा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका व्यक्ति हुन् भने दुर्जकुमार राई वन्तको अवकाशपछि आइजीपी बन्ने लाइनमा रहेका एआइजी हुन् ।
दुर्जले ०४३ सालमा नेपाल प्रहरीमा निरिक्षकबाट सेवा सुरु गरेका हुन् भने थापाले पनि ०४३ सालमै नेपाल प्रहरीमा प्रवेश गरेर सेवा थालेका हुन् । थापा र राइैसँगै एआइजी भए पनि राई वरिष्ठताको आधारमा एक नम्बरका एआइजी भएकाले उनले नै कार्यवाहक आइजीपीको जिम्मेवारी सम्हाल्ने सम्भावना बढी रहेको सशस्त्र स्रोतको भनाइ छ ।
अहिले नै कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेर आगामी चैतमा आइजीपी बनेको खण्डमा राईले करिब १४ महिना सशस्त्र प्रहरी बलको नेतृत्व गर्ने अवसर पाउने छन् ।
तर, एसएसपी हुुँदा जनआन्दोलन ०६२/०६३ मा दमन गरेर दोषी ठहर भएर कार्वाहीका लागि सिफारिसमा परेका दुर्जलाई कुनै कार्वाही भएन । बरु उनी डीआइजी र एआइजीमा बढुवा हुँदै सशस्त्र प्रहरी बलको नेतृत्व तहमा पुग्ने कसरतमा छन् । उनलाई आइजीपी बनाइएको अवस्थामा गृहमन्त्री शक्ति बस्नेत आलोचित हुने सम्भावना छ ।
त्यस्तै अर्का एआइजी जीवन थापा पनि आन्तरिक कारवाहीमा परेका व्यक्ति हुन् । पछिल्लो समय आइजीपी वन्तसँग छाडा बोलेर संगठनको मर्यादा उल्लंघन गरेको भन्दै उनले नसिहत पाएका छन् ।
सशस्त्र प्रहरी स्रोत भन्छ- दुईजनालाई मात्रै आइजीपीमा प्रतिस्पर्धी भन्न मिल्दैन, लाइनमा रहेका सबैजना छनोटका लागि योग्छ छन् ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज