एमालेका विद्यार्थीलाई यसरी लाग्दैछ महाधिवेशनको महाभारत अध्यक्षमा तीन दावेदार निस्किए: पदाधिकारीमा दर्जनौं उम्मेदवार

२०७२ पुष १४ गते ११:१० मा प्रकाशित
 
१४ पुस, काठमाडौं । एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशन आउन करीब डेढ महिना बाँकी रहँदा अध्यक्षसहित पदाधिकारीमा दर्जनौं विद्यार्थी नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
अखिलको महाधिवेशन आगामी माघ २७, २८ र २९ गते काठमाडौंमा हुने भएको छ । गत असोजमै हुनुपर्ने महाधिवेशन संविधान जारी र नाकाबन्दीका कारण चारमहिना पछाडि धकेलिएको हो ।
महाधिवेशनको तयारी युद्धस्तरमा भइरहेको र बिभिन्न जिल्ला तथा क्षेत्रमा भेलाहरु आयोजना भइरहेको मूल व्यवस्थापन समितिका संयोजक दीपक गौतमले बताए । त्यसका लागि सचिवालय समेत गठन भइसकेको उनले जानकारी दिए ।
अखिलको महाधिवेशनमा जनपरिचालनको समेत जिम्मा पाएका प्रचार प्रसार समितिका प्रमुख ऐन महरका अनुसार भृकुटीमण्डपमा अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । जुन ठाउँमा एमालेको पनि महाधिवेशन उद्घाटन भएको थियो ।
महाधिवेशनमा १५ सयभन्दा बढी प्रतिनिधिले भाग लिने प्रतिनिधि व्यवस्थापन समिति संयोजक नविना लामाले जानकारी दिइन् । त्यसमा महिलाको संख्या एक तिहाइ हुनेछ भने प्रतिनिधि छनोट माघ ८ गतेसम्म भइसक्नेछन् ।
अध्यक्षमा तीन प्रतिस्पर्धी
Aneraswabiu (2)
महाधिवेशनबाट वर्तमान अध्यक्ष किशोरविक्रम मल्ल बिदा हुने भएपछि अध्यक्षमा मुख्यतः तीनजना प्रतिस्पर्धी दखिएका छन् । जसमा वर्तमान कमिटीका उपाध्यक्ष ऐन महर,दिपक गौतम र महासचिव नविना लामाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अर्का उपाध्यक्ष थोमस बास्तोला भने अमेरिकी डीभीका कारण उम्मेदवारीको रिङबाट बाहिरिएका छन् । बास्तोला अमेरिकाबाट नफर्किएपछि माधव नेपाल पक्षबाट दीपक गौतम अध्यक्षको एक्लो उम्मेदवार बनेका छन् ।
पार्टीको संस्थापन पक्षसँग निकट रहेका ऐन महर र नविना लामामध्ये कसलाई अध्यक्षमा अघि बढाउने भन्ने टुंगो नलागेका कारण उनीहरुका समर्थक अन्योलमा छन् । संस्थापन पक्षबाट महर एक्लो दाबेदार थिए । तर, एमालेको नवौं महाधिवेशनताका नविना पनि ओलीतिर लागेपछि दुबैको दाबी रहँदै आएको छ ।
महर र लामा दुवै अध्यक्षको दौडमा अघि बढेपछि संस्थापन पक्षबाट दुईमध्ये एकलाई अध्यक्ष छान्न सकस भएको छ । महरको पक्षमा भूगोलमा क्रियाशील विद्यार्थीहरुको जमातले लबिङ थालेको छ । उता नविना लामाको पक्षमा पनि उनका समर्थकले लबिङ व्यापक बनाएका छन् ।
ऐन र नविना दुवै अध्यक्षको दौडमा अघि बढेपछि संस्थापन पक्षका अखिल कार्यकर्ताहरु कता लाग्ने भन्ने अप्ठेरोमा परेका छन् । वर्तमान अध्यक्ष किशोर मल्ल नविनाको पक्षमा देखिएका छन् भने सचिव महेश बर्तौला, स्थायी कमिटी सदस्य शैलेस लामाहरु ऐनको पक्षमा उभिएका छन् ।
पार्टी अध्यक्ष केपी ओलीदेखि अखिलका निवर्तमान अध्यक्ष माधव ढुंगेलसम्मका संस्थापन पक्षका नेताहरु खुलेका छैनन् । पछिल्ला अनौपचारिक छलफलहरुमा दुवैलाई स्वस्थ ढगले अघि बढ्न र जसले जित्ने अवस्था देखिन्छ उसैलाई अघि बढाउने संकेत गरेको बताइएको छ ।
राष्ट्रिय परिषद सदस्यहरुलाई स्वतः आयोजक बनाउने निर्णय गराएपछि ऐन महरले आफू बलियो भएको भन्दै पार्टी नेताहरुलाई दबावमा पारेका छन् । रापसहरुमा ऐनका व्यक्तिगत मत ५० भन्दा बढी रहेको बताइन्छ ।
उता दीपक गौतम पक्षले समग्रमा रापससहित ३ सय ६४ सदस्यीय आयोजक कमिटीमा बराबरी संख्या रहेको दाबी गरेको छ । ऐन महर र नविना लामा पक्षले भने संस्थापन पक्ष बढी रहेको दाबी गरेको छ ।
स्रोतका अनुसार संस्थापन पक्षबाट खिमलाल भट्टराई र माधव ढुंगेललाई अखिलको उम्मेदवारी मिलाउने जिम्मा दिइएको छ । उनीहरु दुबै अखिलका पूर्वअध्यक्ष हुन् । योभन्दा माथि भानुभक्त ढकाल, रवीन्द्र अधिकारीलगायतका नेताहरुको टीम छ ।
थोमस बास्तोलाले ‘वाकओभर’ दिएपछि माधव नेपाल पक्षका एकल उम्मेदवार बनेका दीपक गौतम देश दौडाहामा छन् । नवलपरासीमा आफ्नो पक्षले प्यानल जितेको दाबी गर्दै गौतमले उत्साह व्यक्त गरेका छन् ।
माधव नेपाल पक्षले अखिलमा उम्मेदवार मिलाउन राजेन्द्र राई र ठाकुर गैरेलाई अनौपचारिक जिम्मा दिएको छ । उनीहरु दुवै अखिलका पूर्व अध्यक्ष हुन् । त्यस बाहेक रामकुमारी झाँक्री पनि यसमा सक्रिय छिन् ।
पदाधिकारी उम्मेदवार धेरै
नेपाल पक्षबाट अध्यक्षमा भन्दा अन्य पदाधिकारीमा उम्मेदवारी मिलाउन संकट छ । महासचिवमा गौतम प्यानलबाट पाँचजनाको दावी छ । राधिका खतिवडा, जीवन राई, अब्दुल हुसेन खाँ, सरोज यादव र भक्तकुमारी लामाले महासचिव दावी गरेका छन् । यी मध्ये राई अनुशासन आयोगका अध्यक्ष हुन् भने बाँकी सबै सचिव हुन् ।
यीनैमध्ये एकजनालाई महासचिव बनाएर बाँकी चारजनालाई उपाध्यक्ष उम्मेदवार बनाउने तयारी नेपाल पक्षको छ । तीन आरक्षितसहित सात सचिवमा नेपाल पक्षबाट डेढ दर्जनले दाबी गरेका छ ।
संस्थापन पक्षमा भने अध्यक्षबाहेक अन्य पदाधिकारीमा उम्मेदवार मिलाउन समस्या देखिएको छैन । अध्यक्षमा ऐन महरले टिकट पाए महासचिवमा रश्मी आचार्य हुनेछन् भने नविनाले टिकट पाएमा महेश बर्तौला हुनेछन् ।
चार उपाध्यक्षमा सुनिता बराल, रश्मी वा महेश बर्तौला, शैलेश लामा उम्मेदवार बन्ने लगभग तय भइसकेको छ । कोषाध्यक्षमा कमला बोहोराले उम्मेदवारी घोषणा गरेकी छन् ।
अखिलको नयाँ बिधान अनुसार तीन समावेशी सहित ७ जना सचिव हुने व्यवस्था गरिएको छ ।
सचिवमा सबैभन्दा धेरै उम्मेदवार छन् । संस्थापन पक्षबाट खुला सचिवमा समिक बडाल, आरसी लामिछाने, झपिन्द्र खत्री, गोविन्द श्रेष्ठलगायतले दावी गरेका छन् ।
महिलाबाट सम्झना अधिकारीको सम्भावना छ भने जनजातिबाट अमृत बुढा वा चन्द्र लामामध्ये एक उम्मेदवार हुनेछन् । मधेसीबाट संस्थापन पक्षका एक्ला उम्मेदवार दुर्गानन्द ठाकुर देखिएका छन् ।
दीपक गौतम पक्षबाट सचिवको उम्मेदवार मिलाउन निकै तनाव छ । अशेष घिमिरे, सुदेश पराजुली, कमल शाही, दिनेश आचार्य, ज्ञानु भण्डारी, भीम रावल, हिरेन्द्र शाही, नीलकण्ठ आचार्य, सीता थापा खुला सचिवका दावेदार हुन् ।
त्यस्तै महिलाबाट आरती लामा, मधेसीबाट ओसिम आलम वा शिवजी गुप्ता र जनजातिबाट यशु लामा वा गौतम राईमध्ये एकजनालाई सचिवको उम्मेवार बनाउने तयारी छ ।
यिनैमध्येबाट कोषाध्यक्ष र आयोगका अध्यक्षमा उम्मेदवार उठाइने गौतम निकट स्रोतले जनाएको छ ।
सचिवालयमा को को ?
अखिलको पदाधिकारी उम्मेवार उत्पादन गर्ने सचिवालयमा पुग्नका लागि दर्जनौं आकांक्षीहरुले आ आफ्नो समूहका नेताहरुलाई दबाब दिइरहेका छन् । संस्थापन पक्षबाट सचिवालय सदस्यको उम्मेदवारमा लुम्बिनीबाट यमराज पाण्डे एकल उम्मेवार देखिएका छन् । उपत्यकापछि सबैभन्दा धेरै प्रतिनिधि आउने लुम्बिनीबाट नेपाल पक्षका केन्द्रीय सदस्य नभएकाले उनी एक्लो उम्मेदवार हुन् ।
त्यस्तै नारायण घर्ती, नरेश रोकाय, युवराज कुँवर, सुरेश राउत, भाष्कर काफ्ले, दिपेन्द्र अधिकारी, वीर उदास श्रेष्ठ, खगेन्द्र पोखरेल, टीकाजंग थापा, मोति बिक, सम्झना गौतम, मर्यादा विष्ट, आद्रता रेग्मी, सरिता पुरी संस्थ्ाापन पक्षबाट सचिवालय सदस्यका उम्मेदवार हुन् ।
त्यस्तै दीपक गौतम पक्षबाट सचिवालय सदस्यमा शिव पौडेल, सीएम भट्ट, बलारम बेल्बासे, गणेश सेढाइँ, रजिला जोशी, सामना मिश्र, विनोद खुलाल, महेश श्रेष्ठलगायतको नाम चर्चामा छ ।
सबै पदाधिकारीमा महिला उम्मेदवार
अखिलमा मात्र नभएर नेपालका विद्यार्थी तथा राजनीतिक संगठनहरुमा यो संयोग पनि हुन सक्छ, अनेरास्ववियुको अध्यक्षदेखि सबै पदाधिकारीमा महिला दावेदार सशक्त रुपमा देखिएका छन् ।
Aneraswabiu (1)
अध्यक्षमा नविना लामा, उपाध्यक्षमा सुनिता बराल र भक्तकुमारी लामा, महासचिवमा राधिका खतिवडा, सचिवमा आरती लामा, सीता थापा, सम्झना अधिकारी, यशु लामा र कोषाध्यक्षमा कमला बोहोराले उम्मेदवारी दावी गरेका छन् ।
नेपालका विद्यार्थी संगठनहरुमध्ये सबैभन्दा पहिलो महिला अध्यक्ष रामकुमारी झाँक्री अनेरास्ववियुमै भएकी थिइन् । यसबीचमा अखिलमा महिला सहभागिता उत्साहजनक रुपमा बृद्धि भएको र राजनीतिमा लाग्न चाहने विद्यार्थी महिलाहरु बढेको अखिल नेतृ सुनिता बरालले बताइन् ।
दुवै पक्ष आ-आफ्नो प्यानलबाट उम्मेदवार मिलाउन संघर्ष गरिरहेका बेला अखिलको नेतृत्व कसले जित्छ भन्ने अनुमान चाहिँ प्रतिनिधि चयनपछि मात्र लाग्नेछ ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज