ट्रान्स्फर्मर किन पड्कन्छ ? रोकथामको उपाय के हो ? पड्कँदो ट्रान्स्फर्मर र हाम्रो दैनिकी !

२०७२ पुष १८ गते १२:१५ मा प्रकाशित
विस्वासबाबु पोखरेल
प्रधानमन्त्री ओलीले हावाबाट बिजुली निकालेर लोडसेडिङ घटाऊने ठट्टा गरेकै दिनबाट नेपालमा अन्धकारको समय थपिएको छ । उनको एक बर्से समयबधी उनकै जिवनकालमा सुरु होला या उनको शेषपछि शायद उनैलाई थाहा होला तर उनको हावादारी भाषण सुनेर तालीबजाउनेहरुलाइ आश भने पक्कै भएको हुनुपर्छ । भविश्यमा लोडसेडिङ घट्ला या बढ्ला ती सबै तपशीलका कुरा हुन् । तर वर्तमानमा दिपावलीमा आलु बम पड्किएसरि पड्किएका बिजुलीका ट्रान्स्फर्मरलाई एकैछिन सम्झिऔं ।
Biswas-babu-Pokrelविद्युत उत्पादन र प्रशारणका केही आधारभुत प्रकृयाहरु हुन्छन्, जसका प्रमुख उपकरणहरुमा जेनेरेटर, टर्बाइन र ट्रान्स्फर्मर पर्छन्। प्रमुख यस अर्थमा कि यिनिहरुको खरिद लागत एकदमै उच्च हुन्छ र यि मध्ये कुनै एक चिज बिग्रिएमा त्यसलाई मर्मत गर्न धेरै समय लाग्नुको साथै त्यतिनै समयको लागि बिद्युत प्रसारण प्रकृया पनि अबरुद्द हुन सक्छ । त्यसैले बिद्युत उत्पादन र प्रशारण प्रकृयामा माथि उल्लेखित तीनै चिजलाई बिद्युतिय सुरक्षा बिधी/उपकरणहरु (सर्किट ब्रेकर, फ्युज, रिले) को प्रयोग गरेर सुरक्षाको प्रवन्ध मिलाईएको हुन्छ ।
ट्रान्स्फर्मर किन पड्कन्छ ?
ट्रान्स्फर्मरमा हुने निरन्तर करेन्ट प्रभाहले यसलाई तताउने काम गरिरहेको हुन्छ तर त्यतिनै तापले ट्रान्स्फर्मर पड्किहाल्ने चाँही हैन । त्यसरी सिर्जित तापलाई न्यूनीकरणका लागि बिशेष प्रकारको तेल र वायुमन्डलीय खुला बायुको प्रयोग गरिएको हुन्छ, ट्रान्स्फर्मरको बनावटले यसको चिस्यान प्रकृयाको निर्धारण गर्छ ।
बिद्युतिय माग बढ्नु भन्नाले ट्रन्स्फर्मरमा प्रभाह हुने करेन्टको मात्रा बढ्नु हो, जुन तापसँग सापेक्ष्य हुन्छ । अहिले प्रयोग भैरहेका इन्डक्सन चुलो र बिद्युतिय हिटर को बढ्दो प्रयोगसँगै ट्रान्सफर्मरमा प्रभाहित हुने करेन्टको मात्रा पनि बढिरहेको छ जसबाट ट्रान्स्फर्मरको ताप बढ्नु पनि स्वभाविक नै भयो । त्यो बढेको ताप न्युनिकरण गर्न ट्रान्स्फोर्मर भित्र प्रवाहित हुने तेलको प्रभाहमा कुनै किसिमको अवरोध आएमा त्यो तेलको आयतन तापको कारणले बढ्छ र त्यसकिसिमको समस्याबाटरोकथाम गर्न जडित “बुच्होल्ज रिले” ले त्यतिबेला काम नगरेमा ट्रान्स्फर्मर पड्कने सम्भावना रहन्छ । पुराना र समय-समयमा मर्मत नगरिएका ट्रान्स्फर्मरमा यसकिसिमको समस्या अधिक रहने गरेको छ ।
कसरी रोकथाम गर्न सकिन्छ ?
अत्यधिक बिद्युत प्रयोगले ट्रान्स्फर्मर पड्कियो भन्ने हल्ला आजभोलि निकै सुनिन्छ जुन बिद्युत प्राधिकरण पानी माथिको ओभानो बन्न खोज्ने राम्रो बहाना हो । खासमा ति ट्रान्स्फर्मर पड्कनेबाला नै थिए,इन्डक्सन चुलो, इन्भर्टर र बिद्युतिय हिटरका कारणले अलि छिट्टै पड्किएका मात्रै हुन् । काठमान्डौका अधिकाँस ट्रान्स्फर्मर सुरक्षाका लागि जडित सर्किट ब्रेकरहरु काम नलाग्ने अवस्थामा छन्, जसको प्रमुख कार्य: क्ष्यमता भन्दा बढी बिध्युत माग हुन गएमा ट्रान्स्फर्मरमा हुने अत्यधिक करेन्ट प्रभाहलाई रोक्नु हो । त्यस्ता सर्किट ब्रेकरहरु तुलनात्मक रुपमा सस्ता हुन्छन । ति सर्किट ब्रेकर र फ्युजको चुस्त-दुरुस्त मर्मत नै ट्रान्स्फर्मर जोगाउने भरपर्दो उपाय हो, जसको दायित्व बिद्युत प्राधिकरणले नीर्वाह गर्नुपर्ने हुन्छ । सायद सस्ता सर्किट ब्रेकरहरु परिवर्तन गर्नु भन्दा करोडौँका ट्रान्स्फोर्मर फेर्नुमै मज्जा आएर होला, आजभोलि ट्रान्स्फर्मर दिपावलिका पटाका भएका छन् अनीसर्वसाधारणका घर चाँहीं दैनिक औँसिको रात झैँ अन्धकार ।
Top Bdr At transfarmar Repair Center (12)
ग्राहकको बिद्युतमागको आधारमा कति क्ष्यमताको ट्रान्स्फर्मर कहाँ जडान गर्ने भन्ने निर्क्योल बिद्युत इन्जिनियरहरुले गर्छन्, जसलाई’लोड  फोरकास्ट’ भनिन्छ । नेपालमा बेला-बेला सिर्जित हुने असहज परिस्थितीले डिजाइन गरिएका ‘लोड  फोरकास्ट’ नै प्रभावित हुने गरेका छन्, अहिलेको परिस्थिती त्यसैको उपज हो । यससँगै त्यसरी जडित ट्रान्स्फर्मरको सुरक्षाका लागि के-कस्ता अनी कति क्ष्यमताका उपकरणको प्रयोग गर्ने भन्ने पनि उत्तिबेलै निर्धारण भैसकेको हुन्छ । प्राय फ्युज र सर्किट ब्रेकरको प्रयोग ट्रान्स्फर्मरलाई जोगाउनको निम्ती गरिन्छ, यस किसिमका उपकरणहरुको प्रयोग आधारभुत बिद्युतिय सुरक्षा अन्तर्गत पर्दछन्, जुन ट्रान्सफर्मरको तुलनामा धेरै नै सस्ता हुन्छन तरपनि यसको दुरुस्त प्रयोग नजरअन्दाज गरिएको छ ।
बर्तमान अवस्था:
पूर्वजन्ममा गतिलै ऋण खाएका रहेछौं र त बिजुलीकै कारणले यति सानो बिचार पोख्नलाई पनि दुर्इ दिन लाग्यो,तपाईंहरुलाई यही पढ्न तीन दिन नलागोस, शुभकामना
तपाईं हामीमध्ये धेरैजनाले बिजुलीको आशमा इन्डक्सन चुलो किनेर राखेका छौं, कहिले मध्य रातमा त कहिले दिउसै सिठ्ठी लगाएकै छौं । तर, बिडम्बना हामीले त्यसरी पकाएर खाँदा ट्रान्स्फर्मर पड्कनुको निरर्थक अपजस पनि सँगसंगै खानुपरेको छ । एउटा आश भाको बिजुलीको पनि अब त हप्तौं कुर्नुपर्ने भैसक्यो । अलि-अलि जोहो गरेको दाउरा सन्याक-सुनुक भइसक्यो, न आजभोलि स्वाभिमानको हेक्का आउँछ, न त कुनै बाद को नै, आउँछ त केबल भोको पेटको कुइँ-कुइँ मात्रै ।
सायद हामी नेपाली जति सन्तोषी जनता दुनियाँमै कोही होलान्,दुईदिनमा दुई गेडा अन्न भुँडीमा परुन्जेलसम्म नेताका हावादारी गफले हामीलाई उर्जा दिइनै रहन्छ ।
नाकाबन्दी पस्चात राष्ट्रियता र स्वाभिमानको कालो पट्टिले हाम्रो आँखा टालिदियो, छामछाम-छुम्छुम् गर्दै हीड्न खोज्दा कहिले रित्ता सिलिन्डरको लाइन त कहिले पेट्रोलपम्पको लाइनमा बज्जारियौँ,उत्तिनै बेला हुइँ-हुइँ साइरन बजाउँदै लस्कर सहित शानका साथ दौडिरहेका हाम्रा आदरणिय नेताहरुले न तपाईंलाई देखे न मलाई, सायद उनिहरुका निवासबाट आएको मिठा परिकारको बास्नाले नाकका प्वालबाहेक उनिहरुको सबै इन्द्रियको ढोका बन्द गरिदिएको हुनुपर्छ ।
हामी नै पीडित, हामीनै शोषक, हामी सामन्ती, हामी नै पिछडा बर्ग, थरी-थरीका ट्याग भिराइदिने नेता अनि उनीहरुप्रति सधैं कृतज्ञ हामी जनता । लाग्छ ! पूर्वजन्ममा गतिलै ऋण खाएका रहेछौं र त बिजुलीकै कारणले यति सानो बिचार पोख्नलाई पनि दुर्इ दिन लाग्यो,तपाईंहरुलाई यही पढ्न तीन दिन नलागोस, शुभकामना !
(लेखक नेपाल इन्जिनियरिङ् काउन्सिलमा दर्ताबाल इलेक्ट्रिकल इन्जिनियर हुन् ।)

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज