नाकाबन्दीको मारः मध्यरातमा खाना पकाउँदै गृहिणी

२०७२ पुष २२ गते ११:३४ मा प्रकाशित
Induction-Cooktop
२२ पुस, काठमाडौं । पेप्सीकोलाकी सुप्रिया दाहालले आफ्नो सुत्ने कोठाको भित्तामा लोडसेडिङको तालिका टासेकी छिन् । सुत्ने बेलामा मोबाइलको लाइट बालेर तालिका हेर्छिन् र त्यहि मोबाइलमा अलार्म लगाउँछिन् ।
पछिल्लो एक महिनामा तीनपटक उनको भित्ताले तालिका फेरिसेकको छ र लोडसेडिङ मोटाएर १५ घन्टासम्म पुगेको छ ।
अचेल प्रायः मध्यरातमा सुपि्रयाको भान्सामा भाँडाकुँडा बज्न थाल्छन् । किनभने उनको भान्सामा खाना पाक्न बत्ति आउनुपर्छ । अहिलेको तालिका अनुसार बिहान-बेलुकी खाना पकाउने समयमा प्रायः बत्ति हुँदैन ।
‘ग्यास सकिएको १५ दिन भो,’ सुपि्रया भन्छिन्, ‘राति बत्ति आएपछि खाना पकाउँछु र बिहान-बेलुकी त्यहि खान्छौं ।’
एउटा नीजि विद्यालयमा पढाउने सुपि्रयाले बिहान साढे आठ बजे खाना खाएर घरबाट निस्किसक्नुपर्छ । बेलुकी पाँच बजे मात्रै फर्किन्छिन् । पछिल्लो लोडसेडिङ तालिका अनुसार सातामा दुई दिन मात्रै राति ९ बजे अगाडी बत्ति आउँछ । बाँकी पाँच दिन १० बजे, ९ बजे, १० बजे, १२ बजे र ११ बजे बत्ति आउने तालिका छ ।
‘११ र १२ बजे बत्ति आउने दिन अलार्म लगाएर सुत्छु,’ उनले अनलाइनखबरसित भनिन् ।
भारतको अघोषित नाकाबन्दीले ग्यास अभाव भएपछि काठमाडौंका घर-घरमा इन्डक्सन चूल्हो र हिटरहरु भित्रिए । तर, खाना पकाउन विद्युतीय उपकरणमा अभ्यस्त हुन नपाउँदै सुपि्रया जस्ता थुप्रै गृहणीहरु लोडसेडिङको मारमा परेका छन् । घरमा ग्यास सकिएका मात्र होइन, अलिकति भएका गृहणीहरु समेत मध्यरातमा भात पकाउछन् ।
मैतीदेवीमा बस्ने यसोदा पाठक भन्छिन्, ‘ग्यास त अलिकति बाँकी छ । तर सकिएला भन्ने डरले सकभर बत्तिकै प्रतिक्षा गर्छु ।’
ग्यास जोगाउनका लागि राजधानीवासीले अनेक उपायहरु अबलम्बन गरिरहेका छन् । खानेकुराका भेराइटीहरु घट्दै गएका छन् । धेरै किसिमका परिकारहरु पाक्ने परिवारमा पनि तरकारीमा झोल हालेर खान थालिएको छ ।
नयाँ बानेश्वर बस्ने सुमित्रा दंगाल भन्छिन्, ‘हामीले त दुई छाक खाना पकाउन छाडेको धेरै भइसक्यो ।’ एकपटक पकाएको खानेकुराले तीनपटकसम्म पुर्‍याउने उनले बताइन् ।
घरमा विद्युतीय उपकरण हुनेहरुको त कम्तिमा एकपटक खाना पकाएर खान्छन् । तर, जोसित विद्युतीय उपकरण पनि छैन, उनीहरुको झनै बेहाल छ ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज